काठमाडौं । इटालियन क्लब एसी मिलानमा आयोजना हुने फुटबल क्याम्पका लागि नेपालबाट नेल्शन तामाङ र श्रीयान्स मानन्धर छनोट भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न एसी मिलान जुनियर फुटबल क्याम्पमा उत्कृष्ट बनेका नेल्शन र श्रीयान्स छनोट भएका हुन् ।
आयोजक एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टका संयोजक थमन भुसालले क्याम्पबाट दुई खेलाडी छनोट भएको जानकारी दिए ।
'मिलानबाट आएका प्रशिक्षकहरुले हामीलाई नेल्शन र श्रीयान्सको नाम सिफारिस गरेको छ,' संयोजक भुसालले भने, 'प्रशिक्षणका लागि इटाली जाने खेलाडीको नाम प्रशिक्षकहरु मिलान फर्किएपछि तय हुनेछ ।'
संयोजक भुसालले एसी मिलानको क्याम्पका लागि एक खेलाडी लैजाने भएपनि नेपाल आएका प्रशिक्षकले दुई खेलाडीको नाम दिएको बताए । संयोजक भुसालका अनुसार प्रशिक्षकले दुई खेलाडीको नाम सिफारिस गरेपछि दुवै खेलाडी इटाली जान सक्ने संभवाना रहेको बताए ।
'एक खेलाडी इटाली जाने पक्का हो । तर, उनीहरुले दुई खेलाडी छनोट गरेका छन् । अब दुवै वा एक खेलाडीले इटालीमा प्रशिक्षण गर्न पाउने छन्,' संयोजक भुसालले थपे ।
नेपालमा दोस्रो पटक संचालन भएको युएसी मिलानको जुनियर फुटबल क्याम्पमा १०० खेलाडीको सहभागिता रहेको थियो । ६ दिन चलेको क्याम्पमा ७ देखि १७ वर्षमुनिका खेलाडीहरुको सहभागिता रहेको थियो ।
क्याम्पमा सहभागी खेलाडीलाई प्रशिक्षण दिन एसी मिलानबाट ४ प्रशिक्षकहरु नेपाल आएका थिए । क्याम्पका लागि एड्रियाना निकोली, पाओलो कार्ली, ग्राबियल मोरोक्को र सिमोन बोनीनी नेपाल आएका थिए ।