काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) लाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ ।
क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनायो ।
नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले ।
अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । यस्तै भिमले ५४ बलमा ५३ रनको योगदान दिए । हरि र भिमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।
यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे ।
युएईका रिशाब मुखर्जीले ४ तथा मोहमद फाराजुदीनले ३ विकेट लिए ।
पहिलो खेलमा शानदार जित निकालेको नेपाल युएईविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो ।
छनोटमा नेपालले २ अंक जोडेको छ । र, नेपाल शीर्ष स्थानमा रहेको छ । युएई २ अंकसहित तेस्रो स्थानमा छ ।