एजेन्सी । ब्राजिली स्टार नेयमार मैदान फर्कने तयारी गरेका छन् । चोटका कारण लामो समय आराम गरिरहेका उनी कोपा डे फ्रान्सको फाईनलमा मैदानमा फर्कने तयारी गरेका हुन् ।
पैतालामा चोट बोकेपछि नेयमार पछिल्लो जनवरीदेखि मैदानमा देखिएका छैनन् । बर्षमा लगातार दोस्रो पटक चोट बोकेका उनले यस सिजनमा धेरै समय मैदान बाहिरनै रहे ।
नेयमारको अनुपस्थितीले पीएसजीलाई लिग वानको उपाधि जित्न कुनै समस्या भएन । तर च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा पीएसजी प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरियो ।
पीएसजी घरेलु लिग जित्न मात्र एक खेलले पछाडी छ । क्लबले आगामी अप्रिल २७ मा कोपा डे फ्रान्सको फाईनल खेल खेल्दैछ ।
नेयमारको बुवा नेयमार सिनियरले उनी चाँडै मैदान फर्कने तयारी गरिरहेको बताएका हुन् ।
‘मैदान फर्कने बिषयलाई लिएर उनी निकै खुसी छन् ।’ नेयमार सिनियरले भने, ‘उनले निकै खुसीको अनुभव गरेका छन् । उनी जब मैदानमा हुन्छन्, उनको सोच निकै सकारात्मक हुने गर्छ ।’
नेयमारको अनुपस्थितीमा पीएसजीले अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान युनाईटेडलाई २–० ले हराएको थियो । तर दोस्रो लेगको खेलमा हार ब्यहोर्दै पीएसजी प्रतियोगिताबाट बाहिरियो ।
‘मैले पहिलो पटक नेयमार निकै दुखी भएको देखे । टिम हारेर मात्र होईन, क्लबलाई सहयोग गर्न नपाउदाँ उनी दुखी थिए । पीएसजी च्याम्पियन्स लिगमा छनोट हुनेछ । र नेयमारले त्यसमा खेल्नेछन् ।’ उनले भने ।
‘यो हामी सबैको लागि निकै दुखी अवस्था हो । समर्थक, क्लब र स्वयम नेयमारका लागि । किनकी उनी आफै मैदानमा उपस्थित हुन सकेनन् ।’ नेयमार सिनियरले थपे ।