काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले आज (शनिबार) बलियो टोली युनाईटेड अरब इमिरेट्स (युएई) संग प्रतिस्पर्धा गर्दैछ ।
क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ७:४५ मा सुरु हुनेछ । र, दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो खेलमा शानदार जित निकालेको नेपाल युएईविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । युएईविरुद्ध नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
कप्तान रोहित पौडेल र पवन सर्राफ चम्किएपछि नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । नेपाल सिंगापुरविरुद्धको उक्त जितले थप हौसिएको छ ।
छनोटको पहिलो खेल सकिदा नेपालले २ अंक जोडेको छ । र, नेपाल शीर्ष स्थानमा रहेको छ । युएई २ अंकसहित तेस्रो स्थानमा छ ।
नेपालविरुद्ध मैदान उत्रदा युएई पनि दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा युएईले मलेसियालाई ५ विकेटले हराएको थियो ।
हेड टु हेड कस्तो ?
युएई र नेपालबीचको पछिल्लो पाँच खेलमा नेपाल पूर्ण रुपमा हाबी हुँदै आएको छ । पाँच खेलमा नेपालले ४ खेलमा जित निकालेको छ । तर, पछिल्लो समय उत्कृष्ट खेलिरहेको युएईलाई पराजित गर्न नेपाललाई कठिन मानिएको छ ।
नेपालले पछिल्लो पटक सन् २०१८ को एसिया कपमा युएईसंग खेलेको थियो । उक्त खेलमा नेपालले ३ विकेटको जित हात पारेको थियो ।
सन् २०१३ मा भने नेपाल युएईसंग पराजित भएको थियो । मलेसिया मै भएको एसीसी यू-१९ इलाईट कपमा नेपाल युएईसंग ७६ रनले पराजित भएको थियो ।