एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै सन्दीपको टिम दिल्लीले चौंथो जित निकालेको हो । तर, कोलकत्ताविरुद्ध दिल्लीले स्पिनर सन्दीपलाई मैदान प्रवेश गराएन् ।
इडेन गार्डेनमा कोलकत्ताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।दिल्लीको जितमा शिखर धवनले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रन बनाए । उनले ६३ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै दिल्लीका ऋषब पन्तले ४६ रन जोड्दा पृथ्वी श र कोलिन इन्ग्रामले समान १४/१४ रन जोडे । कोलकत्ताका प्रसिद्द कृष्ण, आन्द्रे रसेल र नितिश रानाले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । कोलकत्ताका लागि सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रन बनाए ।
यस्तै आन्द्रे रसेलले ४५ तथा रोविन उथप्पाले २८ रन जोडे । पियुस चावला १४ रनमा अविजित रहे । दिल्लीका क्रिस मोरिस, कागीसो राबडा र पाउल किमोले २/२ विकेट लिए ।
जितसंगै दिल्लीले ७ खेलमा ४ जितसहित ८ अंक जोडेको छ । दिल्ली लिगको चौंथो स्थानमा छ । दोस्रो स्थानको कोलकत्ताको ७ खेलबाट ८ अंक रहेको छ ।
योसंगै दिल्लीले यस सिजन कोलकत्तालाई लगातार दोस्रो पटक हराएको छ । पहिलो भेटमा पनि दिल्लीले कोलकत्तालाई सुपर ओभरमा हराएको थियो ।