काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिगमा डेब्यु खेल खेलेका छन् । शनिबार राति भएको खेलमा सीडब्ल्युआई बी टिमविरुद्ध मैदान उत्रदै लिगमा डेब्यु गरेका हुन् ।
भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिग खेलेका सन्दीपले मोन्ट्रेल टाइगर्सबाट ग्लोबल टी-२० क्रिकेट लिग खेलिरहेका छन् । पहिलो खेल गुमाएका सन्दीपले दोस्रो खेल खेल्दै डेब्यु गरेका हुन् ।
लिगको लागि छैटौं चरणमा छानिएका सन्दीपले डेब्यु खेलमा १ विकेट लिदै १ रन बनाए । सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै १ विकेट लिएका हुन् । यस्तै उनले १ बलमा १ रन बनाए । सन्दीपको डेब्यु खेलमा मोन्ट्रेल २ विकेटले पराजित भएको छ । मोन्ट्रेलले दिएको १८८ रनको लक्ष्य सीडब्ल्युआईले १९ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गरेको थियो ।
दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।