काठमाडौं । नेपालमा दोस्रो पटक संचालन भएको युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प सम्पन्न भएको छ ।
एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टको योजनामा भएको एसी मिलान जुनियर फुटबल क्याम्प शुक्रबारबाट सकिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ६ दिन चलेको क्याम्पमा ७ देखि १७ वर्षमुनिका १०० खेलाडीहरुको सहभागिता रहेको थियो । सहभागी खेलाडीले फुटबलसम्बन्धि आधारभूत ज्ञान लिएका थिए ।
क्याम्पमा सहभागी खेलाडीलाई इटालियन क्लब एसी मिलानबाट आएका ४ प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । खेलाडीलाई प्रशिक्षण दिन मिलानबाट एड्रियाना निकोली, पाओलो कार्ली, ग्राबियल मोरोक्को र सिमोन बोनीनी नेपाल आएका थिए । उनीहरुलाई नेपालका १० प्रशिक्षकले सहयोग गरेका थिए ।
यस क्याम्पमा सहभागी एक उत्कृष्ट खेलाडीले अब इटालीस्थित एसी मिलान क्लबमा विशेष प्रशिक्षणको मौका पाउने छन् । इटालीमा प्रशिक्षणका लागि छनोट हुने खेलाडी केहि दिनमा घोषणा गर्ने आयोजकले जनाएको छ ।