फिदिम । डाँगीहाट फुटबल क्लब मोरङ फिदिममा जारी वाइ वाइ तेस्रो पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको पहिलो सेमीफाइनलमा हेटौडाको विजय युथ क्लबलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले हराउँदै डाँगीहाट उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
पेनाल्टीमा डाँगीहाटका हेमन्त थापा मगर, पुजन उपरकोटी, बिक्रम लिम्बु र अर्मान भिदुमले गोल गरे । डाँगीहाटका नविन गुरुङका विजयका गोलकिपर अशोक बरालले रोकेका थिए ।
विजय युथका सुनिल बल, हमिद र टेम्पीले गोल गरे । डाँगीहाटका सरोज दाहालको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो भने रेजिन सुब्बाको प्रहार आकासिएको थियो ।
यसअघि खेलको ४६ औं मिनेटमा सुनिल बलको गोलबाट विजय युथले अग्रता बनाएको थियो । तर, ४९ औं मिनेटमा संजोग राईले गोल गर्दै डाँगीहाटलाई खेलमा फर्काएका थिए ।
खेलमा डाँगीहाटका संजोग राई म्यान अफ दि म्याच चुनिए । उनले पाँच हजार प्राप्त गरे ।
अब डाँगीहाटले उपाधिका लागि युनाइटेड दार्जिलिङ र हिमालयन शेर्पाबीचको विजेतासंग खेल्नेछ ।