काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा भईरहेको छ ।
मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सिंगापुरले खराब ब्याटिङ गरिरहेको छ । सिंगापुरले ३० ओभर मै ९ विकेट गुमाएको छ ।
नेपालको किफायती बलिङसामु सिंगापुरले ३० ओभरमा ९ विकेट गुमाएर मात्र ६५ रन बनाएको छ । नेपालका कुशल मल्ल, सुर्य तामाङ र पवन सर्राफले समान २/२ विकेट लिएका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । सिंगापुरविरुद्ध बनाएको यो स्कोर यू-१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठुलो स्कोर हो ।
खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।
कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शतक बनाउन ५ रनले चुके । पवन ४७ रनमा आउट भए ।
यस्तै नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए ।
आठौं पटक विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
यू-१९ क्रिकेटको इतिहासमा सिंगापुरविरुद्ध नेपाल सधै हावी हुँदै आएको छ । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा नेपाललाई पहिलो खेल सहज हुने अनुमान गरिएको छ ।
नेपाल र सिंगापुरको यू-१९ टोलीबीच अहिलेसम्म ९ खेल भएको छ । जसमा नेपाल पूर्ण रुपमा हाबी भएको छ । नेपालले सिंगापुरविरुद्ध ८ खेलमा जित हात पारेको छ । सिंगापुरविरुद्ध हार नखेपेको नेपालले सिंगापुरसंग १ खेलमा खराब मौसमका कारण बराबरी खेलेको छ ।