काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आयोजना हुने 'मातृभूमि कप' क्रिकेट प्रतियोगिता भोली (शनिबार) हुने भएको छ ।
आयोजक धुर्मुस सुन्तली फाउण्डेशनले शुक्रबार पत्रकार सम्मेलन गर्दै वर्षाको कारण स्थगित गरिएको 'मातृभूमि कप' शनिबार हुने जानकारी गराएको छ ।
यसअघि प्रतियोगिता गत शनिबार तय भएको थियो । तर, शनिबार बिहान परेको वर्षाको कारण खेल स्थगित गरिएको थियो । आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी समेत सकीएको जनाएको छ ।
'यस प्रतियोगितामा उठेको रकम क्रिकेट रंगशाला निर्माणमा खर्च हुनेछ,' फाउण्डेशनकी कुन्जना घिमिरे (सुन्तली) ले भनिन्, 'रंगशाला निर्माण पछि खेलकुदलाई मात्र नभएर पर्यटनलाई समेत सघाउने छ ।'
रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन टियु क्रिकेट मैदानमा हुने मातृभूमि कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा दुई टोलीले खेल खेल्ने छन् ।
पारसको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम 'ए' र ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम 'बी' नाम दिईएको छ ।
कप्तान पारसको टोलीमा अनिल साह, शरद भेषावकर, ललित नारायण राजवंशी, सोमपाल कामी, अविनास बोहोरा, सन्दीप जोरा, रोहित कुमार पौडेल, सुनिल धमला, कमल सिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।
उपकप्तान ज्ञानेन्द्रको टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भिम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी रहेका छन् ।
यस्तै कलाकारहरुबीचको आर्टिस्ट 'ए' र आर्टिस्ट 'बी' बीच पनि खेल हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी गराए । जसमा 'ए' को कप्तानी मदनकृष्ण श्रेष्ठ र 'बी' को कप्तानी हरिवंश आचार्यले गर्ने छन् ।
प्रतियोगिताबाट उठेको रकम फाउण्डेशनले रंगशाला निर्माणमा खर्च गर्नेछ । यस्तै १५ प्रतिशत रकम बारा र पर्सामा हालै आएको विनासकारी हावाहुरीका पीडितलाई दिने आयोजकले जनाएको छ । खेलको टिकट मुल्य ३ सय र १ हजार राखिएको छ ।
फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण हुनेछ । डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल टिम 'ए' का कप्तान पारसले यस प्रतियोगिताले खेलाडीलाई धेरै फाइदा पुग्ने बताए । टिम 'बी'का कप्तान ज्ञानेन्द्रले यस खेलका लागि आफु मैदान उत्रन निकै आतुर रहेको बताए ।