काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपालले अहिले सिंगापुरविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा सिंगापुरविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । सिंगापुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २४ ओभरमा ४ विकेट गुमाएर १४३ रन बनाएको छ ।
सिंगापुरविरुद्ध नेपालका कप्तान रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् । रोहितले ४९ बलमा ५ चौका प्रहार गर्दै ५० रन पुरा गरे ।
खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित र पवन सरार्फले नेपाल इनिङ्स सम्हाले । यस्तै पवन ४७ रनमा आउट भए ।
आठौं पटक विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
यू-१९ क्रिकेटको इतिहासमा सिंगापुरविरुद्ध नेपाल सधै हावी हुँदै आएको छ । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा नेपाललाई पहिलो खेल सहज हुने अनुमान गरिएको छ ।
नेपाल र सिंगापुरको यू-१९ टोलीबीच अहिलेसम्म ९ खेल भएको छ । जसमा नेपाल पूर्ण रुपमा हाबी भएको छ । नेपालले सिंगापुरविरुद्ध ८ खेलमा जित हात पारेको छ । सिंगापुरविरुद्ध हार नखेपेको नेपालले सिंगापुरसंग १ खेलमा खराब मौसमका कारण बराबरी खेलेको छ ।