काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपालले अहिले सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा सिंगापुरविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । सिंगापुरले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।
आठौं पटक विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
यू-१९ क्रिकेटको इतिहासमा सिंगापुरविरुद्ध नेपाल सधै हावी हुँदै आएको छ । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा नेपाललाई पहिलो खेल सहज हुने अनुमान गरिएको छ ।
नेपाल र सिंगापुरको यू-१९ टोलीबीच अहिलेसम्म ९ खेल भएको छ । जसमा नेपाल पूर्ण रुपमा हाबी भएको छ । नेपालले सिंगापुरविरुद्ध ८ खेलमा जित हात पारेको छ । सिंगापुरविरुद्ध हार नखेपेको नेपालले सिंगापुरसंग १ खेलमा खराब मौसमका कारण बराबरी खेलेको छ ।