फिदिम । 'ए' डिभिजन क्लब हिमालयन शेर्पा पाँचथर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा न्यु स्टार सुनसरीलाई ४–३ गोल अन्तरले हराउँदै शेर्पा अन्तिम चारमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको नवौं मिनेटमा कप्तान मान बहादुर तामाङले गोल गर्दै शेर्पालाई अग्रता दिएका थिए । त्यसपछि खेलको १३ औं र २५ औं मिनेटमा डाडी वाम्बाले गोल गर्दै शेर्पालाई ३ – ० को अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा न्यु स्टारका तिर्थ बस्नेतले गोल गर्दै खेल ३ – १ मा ल्याए । खेलको ६७ औं मिनेटमा सब्सिच्युट खेलाडी विजय श्रेष्ठले गोल गर्दै शेर्पाको अग्रता ४ – १ को बनाए ।
दोस्रो हाफमा केही सुधारिएको खेल पस्केको न्यु स्टारले खेलको ७२ औं मिनेटमा दिनेश राईको गोलबाट खेल ४–२ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८२ औं मिनेटमा न्यु स्टारका रोशन भुजेललेएक्रोव्याटिक सटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
खेलमा शेर्पाका डाडी वाम्बा म्यान अफ दि म्याच चुनिए । उनले ५ हजार नगद प्राप्त गरे ।
यस्तै शेर्पाको जितसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । अब शेर्पाले सेमिफाइनलमा युनाइटेड दार्जिलिङसंग खेल्ने छ ।
यस्तै अर्को सेमिफाइनलमा डाँगीहाट फुटबल क्लब र विजय युथ क्लब, हेटौडाबीच खेल हुनेछ ।