काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटको तयारी गर्न नेपाली यू-१९ महिला टोली बुधबार चीन जाने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले नेपाली टोली छनोटको तयारी र दुई मैत्रीपूर्ण खेल खेल्न बुधबार चीन जाने बताए ।
'छनोटका लागि नेपाली टोलीले चीनमा दुई खेल खेल्नेछ,' प्रवक्ता राईले भने, 'बुधबार जाने टोलीले एक युथ टोली र एक प्रदेशको टोलीसंग खेल्नेछ ।'
प्रवक्ता राईले नेपाली टोलीले चीनको यू-१५ महिला टोली र छन्दु प्रान्तको यू-१८ टोलीसंग खेल्ने जानकारी गराए । तर, प्रवक्ता राईले खेल मिति तय नभएको बताए ।
नेपाली टोली अप्रिल २३ सम्म चीनमा रहने छन् । नेपाली टोली त्यहिँबाट थाईल्याण्ड जानेछ ।
दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुनेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
छनोटको समूह 'ए' मा रहेको नेपालले बलियो टोलीहरु अष्ट्रेलिया,उज्वेकिस्तान र म्यानमारसंग खेल्नेछ ।
नेपालले पहिलो खेलमा अप्रिल २६ मा अष्ट्रेलियासंग खेल्नेछ । यस्तै नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।
यसअघि थाईल्याण्डमै भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।