काठमाडौं । म्यानमारमा सम्पन्न ओलम्पिक महिला फुटबलका लागि दोस्रो चरणको छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोलि स्वदेश फर्किएका छन् ।
नेपाली टोली बिहिबार अपरान्ह स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फाको महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
दोस्रो चरणको छनोटमा समूह 'ए' मा रहेको नेपालले तेस्रो स्थानमा हासिल गरेको थियो । र, नेपाल तेस्रो चरणमा पुग्न असफल भएको थियो । छनोटबाट आयोजक म्यानमार तेस्रो चरणमा छनोट भएको थियो ।
नेपालले छनोटमा दुई खेलमा हार व्यहोर्दा एक खेलमा जित निकालेको थियो । नेपालले छनोटमा ३ अंक जोडेको थियो ।
नेपालले लिग चरणको अन्तिम खेलमा इन्डोनेसियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो । नेपालको जितमा दुवै गोल सावित्रा भण्डारीले गरिन् ।
पहिलो खेलमा नेपाल आयोजक म्यानमारसंग ३-१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल चिरपरिचित भारतसंग पनि ३-१ ले नै पराजित भएको थियो ।