एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगमा आयाक्सविरुद्ध क्रिस्टियानो रोनाल्डोले गोल गर्दा आफुलाई कुनै आश्चर्य नलागेको बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति क्वाटरफाइनलको पहिलो लेगमा डच क्लबविरुद्ध रोनाल्डोले गोल गरेका थिए । केहि साताको विश्रामपछि खेलमा फर्किएको रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा उत्कृष्ट डाईभ हेड गोल गरेका थिए ।
‘रोनाल्डो भर्खर मात्र टिममा फर्किएको छ । उसले धेरै राम्रो खेलेको थियो ।’ प्रशिक्षक एलेग्रीले भने, ‘रोनाल्डो आफ्नो एक्सनमा फर्किएको छ । उनले गोलसंगै लय समातेको छ । किनकी ऊ रोनाल्डो हो ।’
रोनाल्डोको गोलबाट सुरुवाती अग्रता बनाएपनि युभेन्ट्स आयाक्ससंग बराबरीमा रोकिएको थियो । डेभिड नेरिसले गोल गर्दै आयाक्सलाई खेलमा फर्काएका थिए ।
आयाक्सविरुद्ध गोल गरेसंगै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या १२५ पुर्राउन सफल भएका थिए ।
तर, प्रशिक्षक एलेग्रीले खेलमा रोनाल्डोबाट अन्य गोलको अपेक्षा गरेको बताए । यस्तै प्रशिक्षक एलेग्रीले दोस्रो लेगमा राम्रो गर्ने समेत बताए ।
‘हामी दोस्रो लेगमा राम्रो गर्ने छौं । र, हामी बल पोजिसनमा पकड बनाउने छौं किनकि उनीहरुले हामीलाई दबाउन नसकोस्,’ प्रशिक्षक एलेग्रीले भने ।