एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्स डच क्लब आयाक्ससंग १-१ गोलको बराबरीमा रोकिएको हो । आयाक्सको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले बराबरी खेल्नु परेको हो ।

खेलको ४५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो । रोनाल्डोले डाइभिङ हेड गोल गरेका थिए । तर, दोस्रो हाफको सुरुवाती मिनेटमै आयाक्सले बराबरी गोल फर्काएको थियो ।
खेलको ४६ औं मिनेटमा डेभिड नेरिसले गोल गर्दै आयाक्सलाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १-१ गोलको बराबरीमा सकियो ।

पहिलो लेग बराबरीमा सकिएसंगै दुवै टोलीले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायमै रहेको छ । अब दुईबीचको दोस्रो लेग खेल युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।
घरेलु मैदानमा हुने दोस्रो लेगमा युभेन्ट्सलाई केहि सहज हुनेछ । आयाक्सलाई भने आफुलाई प्रमाणित गर्ने मौका हुनेछ ।