एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडको घरेलु मैदानमा बार्सिलोनाले आत्मघाती गोलबाट जित निकालेको हो । युनाईटेडका लागि लुक शले आत्मघाती गोल गरेका थिए ।

खेलको १२ औं मिनेटमा बार्सिलोनाका लुइस स्वारेजको हेड डिफेन्डर शलाई लाग्दै गोलमा परिणत भएको थियो । तर, उक्त गोलका लागि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिएको थियो ।
लाइन्स म्यान रेफ्रीले अफसाइड फ्लाग उठाएपछि मुख्य रेफ्रीले भीएआरको सहायता लिएका थिए ।

यो जितसंगै बार्सिलोनाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब बार्सिलोनाले घरेलु मैदानमा युनाईटेडसंग दोस्रो लेग खेल्नेछ ।
युनाईटेडलाई भने सेमिफाइनलमा पुग्न दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नु पर्ने भएको छ ।
