फिदिम । हेटौडाको विजय युुथ क्लब पाँचथर गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुट आउटमा ५ - ४ गोल अन्तरले पराजित गर्दै विजय युथ अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी अघि खेलको ३५ औं मिनेटमा विजय युथका सुदन महतोले आत्मघाती गोल गरेपछि जावलाखेलले अग्रता बनाएको थियो । तर, खेलको ६८ औं मिनेटमा विजयका विश्व लामाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
पेनाल्टी सुट आउटमा भने विजय युथ सफल भयो । विजयका टेम्पो अर्नेष्ट, सरोज दाहाल, रोशन दोङ, हमिद र क्रिश्चियनले गोर गरे । जावलाखेलका फोफोना फोडा, विशाल तामाङ, अरुज सिंह र गौतम श्रेष्ठले गोल गर्दा कप्तान अजय थापाको प्रहार विजय युथका गोलरक्षक अनिष देउलाले रोकेका थिए ।
खेलमा विजय युथका गोलरक्षक अनिष देउला म्यान अफ द म्याच चुनिए । उनले पाँच हजार पुरस्कार हात पारे ।