काठमाडौं । दिपेश श्रेष्ठको निर्णायक गोलमा एलिट स्पोर्ट्सले शनिबार अफेन्डर्सलाई २–१ ले हराउँदै मदन भन्डारी बुढानीलकण्ठ फुटबल कप सभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा भएको खेलमा सुमन श्रेष्ठले ४०औं मिनेटमा गरेको गोलमा एलिट स्पोट्सले अग्रता लिएको थियो । त्यसको एक मिनेट वित्न नपाउँदै अफेनडर्सका मञ्जिल श्रेष्ठले बराबरी गोल फर्काएका थिए । समय सकिन ६ मिनेट बाँकी रहँदा दिपेश श्रेष्ठले गरेको गोल एलिट स्पोट्सलाई जिताउन पर्याप्त बन्यो ।
नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा आइतबार ४ खेल हुनेछ । पेन्टर युथ क्लबले होप फाउन्डेसनसँग प्रतिस्पर्धा गर्नेछ भने बुढानीलकण्ठ युनाइटेडले प्रगतिशिल युथ क्लबसँग खेल्नेछ । अन्य खेलमा ढुकु फुटसल हबले गंगटा युथ क्लबसँग प्रतिस्पर्धा गर्दा पाइरेट्सले कालोपुल ब्वाइजविरुद्ध खेल्नेछ ।
नेपाल खेलकुद महासंघ बुढानीलकण्ठ नगर कमिटीद्धारा आयाजित प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र गोलकिपरलाई जनही ५ हजार रुपौयाँ नगद पुरस्कार पाउनेछन् ।