काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ‘ए’ र बालुवाटार क्रिकेट एकेडेमीले कागेश्वरी मनोहरा यु–१६ टी–२० सान कप क्रिकेट प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगितामा केसीटीसीले एन्जल्स हर्टलाई ७ रन तथा बालुवाटारले पञ्च पोखरीलाई ७५ रनले पराजित गरे ।
मुलपानी क्रिकेट मैदानमा केसीटीसीले पहिले ब्याटिङ गर्दै वर्षका कारण १० ओभरमा छोट्याइएको खेलमा पूरै ओभर खेल्दै ८ विकेट क्षतिमा ६० रन बनाएको थियो । जवाफमा एन्जल्स हर्टले ५ विकेट गुमाउदै ५३ रन बनायो ।
दुई ओभर बलिङ गर्दै ६ रन खर्चेर ३ विकेट लिएका केसीटीसीका सुनभध्वज थापा ‘म्यान अफ द म्याच’ बने ।
अर्को खेलमा सुरुमा ब्याटिङमा उत्रेको बालुवाटारले निर्धारित २० ओभरमा ७ विकेट नोक्सानीमा १ सय २३ रनको योगफल खडा गरेको थियो । प्रत्युउत्तरमा पाँच पोखरी १४.४ ओभरमा अलआउट हुँदै मात्र ४८ रनमा समेटियो । बालुवाटारका नवीन तामाङ ‘म्यान अफ द म्याच’ भए । उनले २.४ ओभरमा ८ रन दिदै ४ विकेट लिए ।
प्रतियोगिताको मुख्य प्रायोजक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । असार ९ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा १२ टिमको सहभागिता रहेको सानका निर्देशक नवीन उप्रेतीले जनाएका छन् ।