काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि जितेपछि सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एसियाली क्लब फुटबलकै सर्वाधिक ठुलो प्रतियोगिता एएफसी कपमा प्रतिस्पर्धा गर्ने मौका प्राप्त गर्यो ।
एएफसी कपको समूह विभाजनमा मनाङ केहि सहज समूह समूह 'इ' मा परेको थियो । मनाङको समूहमा दुई भारतीय र एक बंगलादेशी क्लब परेको थियो ।
त्यसैले मनाङले एएफसी कपको समूह चरण पार गर्ने लक्ष्य बनाएको थियो । मनाङले 'ए' डिभिजन लिगमा समेत उत्कृष्ट प्रदर्शन गरेको थियो ।
तर, मनाङले एएफसी कपमा सोचेजस्तो सुरुवात गर्न सकेन । घरेलु मैदानमा भएको पहिलो खेलमा मनाङ बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित भयो ।
पहिलो खेलमा हार व्यहोरेको मनाङले दोस्रो खेलमा अर्को बलियो टोली चेन्नईयिन एफसीसंग खेल्दैछ । भारतीय सुपर लिग क्लब चेन्नईयिनसंग मनाङले अप्रिल १७ मा उसैको मैदानमा खेल्दैछ ।
चेन्नईयिनविरुद्धको खेलका लागि मनाङले कडा तयारी समेत गरिरहेको छ । किनकी समूह चरण पार गर्ने लक्ष्य लिएको मनाङ चेन्नईयिनविरुद्ध महत्वपूर्ण ३ अंक जोड्न चाहन्छ । दोस्रो चरणमा पुग्न मनाङलाई चेन्नईयिनविरुद्ध ३ अंक जोड्नु बाहेक अन्य विकल्प समेत छैन ।
'चेन्नईयिनसंग हामीलाई जितको विकल्प छैन,' हल्चोकस्थित एपीएफ मैदानमा टोलीलाई निर्देशन दिईरहेका मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले भने, 'हामी जित्न कै लागि खेल्छौ । नयाँ वर्षको सुरुवात हामी जितबाट गर्नेछौं ।'
घरेलु टोली चेन्नईयिनसंग खेल्न मनाङ बैशाख १ गते (नयाँ बर्ष) कै दिन त्यसतर्फ प्रस्थान गर्ने समेत प्रशिक्षक गुरुङले जानकारी गराए ।
होम एण्ड अवेको आधारमा हुने समूह चरणको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । त्यसका लागि मनाङलाई अबको खेलमा अंक जोड्नै पर्ने हुन्छ ।
मनाङका कप्तान तथा डिफेन्डर विराज महर्जन चेन्नईयिनसंग अंक खोस्ने दाबी गर्छन ।
'चेन्नईयिनको खेल हेरेका छौं । खेलाडीहरु सबै फ्रेस भएका छन् । शारीरिक र मानशिक रुपमा खेल्न तयार छौं,' कप्तान महर्जनले भने, 'हामी जित कै लागी खेल्छौ ।'
कप्तान विराजको भनाईमा पहिलो रोजाईका गोलकिपर विशाल श्रेष्ठ पनि सहमत छन् ।
'हाम्रो तयारी राम्रो छ । हामी जित्न कै लागि खेल्छौ । त्यसो नभएन हामी बराबरी गर्दै अंक लिएरै आउने छौं,' गोलकिपर श्रेष्ठले भने ।