एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बुधबार राति इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ ।
युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुवै टोली पहिलो लेगमा जित निकाल्दै सेमिफाइनलको नजिक पुग्न चाहन्छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।
च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य लिएको दुवै टोलीका लागि यस खेल परिक्षाको रुपमा रहने छ । किनकि यस खेलले दुवै टोलीको स्तर तय हुनेछ ।
दुवै टोलीमा स्टार खेलाडीको बाहुल्यता रहेको छ । बार्सिलोनासंग लियोनल मेस्सी, लुइस स्वारेज, फिलिप कौटिन्हो लगायतका विश्व चर्चित खेलाडीको साथ रहेको छ । युनाईटेडविरुद्ध बार्सिलोनाले कप्तान मेस्सीलाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ ।
बार्सिलोनाले अन्तिम १६ मा लियोनलाई सहजै हराएको थियो । त्यसैले बार्सिलोनाका फरवार्डलाई रोक्न युनाईटेडको डिफेन्सलाई निकै कठिन हुनेछ ।
तर, युनाईटेडका सेन्टर ब्याक क्रिस स्मलिङले बार्सिलोनालाई रोक्न टिम तयार रहेको बताएका छन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको पुनरागमन जितले युनाईटेड उच्च मनोबलमा रहेको छ ।
युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायारले पीएसजीसंगको खेलबाट ठुला टोलीलाई हराउन पाठ सिकेको बताएका छन् ।
यस्तै युनाईटेडसंग पाउल पोग्बा, हुवान माटा, एलेक्सिस सान्चेज, एन्थोनी मार्सियल, रोमेलु लुकाकु, जेसे लिंगार्ड लगायतका खेलाडीको साथ रहने छ ।
यस्तै युवा स्टार फरवार्ड मार्कुस राष्फोर्ड समेत टोलीमा फर्कने सम्भावना रहेको छ ।
पछिल्लो ६ खेलको नतिजा हेर्दा दुवै टोली बराबरीको स्थितिमा रहेको छ । यसअघिका ६ भेटमा दुवैले समान २ जित, २ हार र २ बराबरी खेलेका छन् ।