एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा घरेलु टोली मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुनेछ । मुम्बई र पन्जाबबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।
वान्खडे क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिका सुधार गर्नु हुनेछ ।
पन्जाब घरेलु टोलीलाई हराउँदै लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्न चाहन्छ । जारी सिजन पन्जाबले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । तर, मिडल अर्डरका ब्याट्सम्यान चल्न नसक्दा पन्जाबलाई तनाव भएको छ ।
लिगको तेस्रो स्थानको पन्जाबले ६ खेलबाट ८ अंक जोडेको छ । मुम्बईलाई हराएमा पन्जाबले शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंग अंक बराबरी गर्नेछ । चेन्नईको १० अंक छ ।
यता, मुम्बई घरेलु मैदानमा पन्जाबलाई हराएर शीर्ष क्लबसंगको अंक दुरी कम गर्न चाहन्छ । पाँचौ स्थानको मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ ।
घरेलु मैदानमा पन्जाबविरुद्ध मुम्बईको नतिजा समेत राम्रो रहदै आएको छ । पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ भने पन्जाबले दुई खेल जितेको छ ।