काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय चर्चित हिरो इन्डियन महिला लिग खेल्ने भएका छन् ।
पछिल्लो समय राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका दुई खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने पक्का भएको हो ।
पहिलो पटक नेपालका महिला खेलाडीले भारतीय लिगमा औपचारिक रुपमा अनुबन्धन हुन लागेका हुन् । तेस्रो संस्करणको हिरो महिला लिग चाँडै सुरु हुदैछ ।
नेपाली महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले अनिता र सावित्राले भारतीय लिग खेल्ने पक्का भएको खेलपाटीलाई बताए ।
‘सावित्रा र अनिताले अब भारतीय लिग खेल्छन् ।’ उनले भने ।
उनका अनुसार सावित्रालाई गोगुलमले प्रस्ताव गरेको छ । अर्को क्लब सेतुले अनिता र सावित्रा अनुबन्धनको प्रस्ताव गरेको छ ।
यस्तै प्रशिक्षक खड्का राना र रेनुका नगरकोटीको बारेमा समेत छलफल भईरहेको बताए ।
नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दुवै खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका थिए । दुवैको प्रेरणादायी प्रर्दशनमा नेपालले साफको फाईनल यात्रा तय गरेको थियो ।
दुवै खेलाडी अहिले म्यानमारमा जारी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा सहभागि छन् ।
भारतीय फुटबल महासंघले सन् २०१६ बाट इन्डियन महिला लिग आयोजना गर्दै आएको छ ।
यस अघिका संस्करणमा राईजिङ स्टुडेन्ट क्लब र एस्ट्रन स्पोर्टिङ युनियनले जितेका थिए ।
यस अघि अनिता र सावित्राले माल्दिभ्सको फुटसल लिग खेलेका थिए ।