एजेन्सी । चेल्सी प्रशिक्षक माउरिसियो सर्रीले स्टार फरवार्ड ईडेन हजार्डको निर्णयको सम्मान गर्ने बताएका छन् । हजार्डले क्लब छाड्न चाहेमा उनको निर्णयको सम्मान गर्ने प्रशिक्षक सर्रीको भनाई छ ।
हजार्ड पछिल्लो समय स्पेनिस महारथी रियल मड्रिडसंग जोडिएका छन् । रियलले बेल्जियमका अन्तराष्ट्रिय स्ट्राईकरका लागि सय मिलियन पाउण्डको प्रस्ताव गरेको छ ।
सोमबार राति मात्र हजार्डको दुई गोलको सहयोगमा चेल्सीले प्रिमियर लिगको पछिल्लो खेलमा वेस्ट ह्यामलाई २–० ले हराएको थियो ।
‘यदी उनी फरक अनुभव गर्न चाहन्छन् भने उनलाई राख्न निकै गाह्रो छ ।’ सर्रीले भनेका छन् ।
‘उनले निकै महत्वपुर्ण म्याच खेले । यदी उनी यसरी खेल्छन् भने हामीलाई खेल जित्न निकै सहज हुन्छ ।’ उनले थपे ।
‘सय मिलियन पाउण्ड पैसा निकै सस्तो हो । यदी पछिल्लो खेलाडी सरुवा बजारलाई हेर्दा यो निकै सस्तो पैसा हो ।’ सर्रीले बताएका छन् ।
‘हजार्डलाई राख्ने बिषयमा क्लब मसंग सहमत छ ।’ उनले भने, ‘हामी आफुलाई सुधार्न प्रयास गरिरहेका छौ । हामी ईङ्ल्याण्डको उत्कृष्ट टिम बनाउन खोजिरहेका छौ । तर मलाई लाग्छ, उनको निर्णयको मैले समेत सम्मान गर्नुपर्ने हुन्छ ।’
रियलको वागडोर सम्हाल्न आईपुगेका जिनेदिन जिदानले हजार्डलाई आफुले जहिल्यै चाहेको बताईरहेका छन् ।
१८ बर्ष मुनिको विदेशी खेलाडी अनुबन्धनमा चेल्सीले नियम उल्लंघन गरेको भन्दै चेल्सीमाथि सन् २०२० सम्म खेलाडी अनुबन्धनमा प्रतिबन्ध लागेको छ ।
चेल्सीले कारबाहीको बिषयलाई लिएर फिफामा अपिल समेत गरेको छ ।