एजेन्सी । क्लब फुटबल कै प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेलहरु आज (मंगलबार) बाट सुरु हुँदैछ ।
क्वाटरफाइनल अन्तर्गत मंगलबार पहिलो लेगको दुई खेल संचालन हुँदैछ । जसमा दुई इन्ग्लिश क्लब म्यानचेस्टर सिटी र टोटेनहम तथा लिभरपुल र एफसी पोर्टोबीच खेल हुनेछ । दुवै खेल राति १२:४५ मा सुरु हुनेछ ।
टोटेनहम नवनिर्मित मैदान ह्वाइट हर्ट लेनमा सिटी र घरेलु टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
यस सिजन दुवै टोलीले सशक्त प्रदर्शन गर्दै आईरहेको छ । त्यसैले दुई इन्ग्लिश क्लबबीचको भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
तुलनात्मक रुपमा सिटी बलियो देखिएको छ । सबै खाले प्रतियोगिताको पछिल्लो १६ भेटमा सिटीले ११ खेल जितेको छ । तर, घरेलु मैदानमा सिटीको लयलाई रोक्न टोटेनहमले प्रयास गर्नेछ ।
इन्ग्लिश प्रतिद्वन्दीविरुद्ध सिटीको इतिहास खासै रामो छैन । त्यसैले सिटीलाई उसैको मैदानमा टोटेनहमसंग डर हुनेछ ।
यस खेल सिटी र टोटेनहमबीचको १५७ औं खेल हुनेछ ।
यस्तै लिभरपुलले घरेलु मैदानमा पोर्चुगिज क्लब पोर्टोको सामना गर्नेछ । एनफिल्डमा पोर्टोविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ ।
लिभरपुल पहिलो लेग जित्दै सेमिफाइनलमा पुग्ने सम्भावना बनाउन चाहन्छ । घरेलु मैदान र उच्च लयको कारण लिभरपुललाई सहज हुने अनुमान गरिएको छ ।
तर, पोर्टोविरुद्ध लिभरपुललाई त्यति सहज भने हुने छैन । किनकि पोर्टो घरेलु टोलीलाई रोक्दै घरेलु मैदानमा हुने दोस्रो लेग सहज बनाउन चाहन्छ ।