एजेन्सी । स्पेनिस क्लब बार्सिलोनालाई यस सिजन च्याम्पियन्स लिगमा उपाधिका लागि सर्वाधिक दाबेदार टोली मानिएको छ ।
बार्सिलोनाले यस सिजन ला लिगा र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । त्यसैले यस सिजन च्याम्पियन्स लिग बार्सिलोनाले जित्ने फुटबल पण्डितहरुले बताउँदै आएका छन् ।
तर, यस सिजन बार्सिलोनाको उपाधि यात्रालाई रोक्न सक्ने ४ टोली अगाडी देखिएको छ । स्पोर्ट्स केडा डटकमका अनुसार बार्सिलोनालाई रोक्न सक्ने चार टोलीमा ३ क्लब इन्ग्लिश क्लब रहेका छन् ।
बार्सिलोनालाई रोक्न सक्ने क्लबमा क्वाटरफाइनलमा पुगेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, लिभरपुल र इटालियन क्लब युभेन्ट्स रहेका छन् ।
१. युभेन्ट्स
बार्सिलोनालाई रोक्न सक्ने चार क्लब मध्ये पनि शीर्ष स्थानमा युभेन्ट्स रहेका छन् । किनकि इटालियन क्लब युभेन्ट्ससंग स्टार खेलाडीहरुको बाहुल्यता रहेको छ ।
युभेन्ट्ससंग स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समेत रहेका छन् । र, धेरै फुटबल प्रेमीहरु रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनल मेस्सीबीच प्रतिस्पर्धा भएको हेर्न चाहन्छ ।
बार्सिलोनाको डिफेन्स चिर्न युभेन्ट्सका स्टार रोनाल्डो सक्षम रहेको बताईन्छ । यस्तै मेस्सीको उच्च लयलाई रोक्न युभेन्ट्सको डिफेन्सले मात्र सक्ने बताईन्छ ।
म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटीले यस सिजन प्रिमियर लिग र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । त्यसैले बार्सिलोनाको यात्रामा तगारो बन्न सक्ने क्लबमा सिटीलाई हेरिएको छ ।
सिटीसंग बार्सिलोनामा रहेकै जत्तिका स्टार खेलाडीहरुको समेत साथ छ । सिटीमा यस सिजन सर्जियो अग्युरो, केभिन डी ब्रुएन, डेभिड सिल्भा जस्ता नामी खेलाडीहरु रहेका छन् ।
यस्तै बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलालाई बार्सिलोनाका खेलाडीको बारेमा राम्रो जानकारी भएको हुनाले सिटीविरुद्ध बार्सिलोनालाई कठिन हुने बताईन्छ ।
लिभरपुल
बार्सिलोनालाई उपाधि नजिक पुग्न बाँधा बन्ने अर्काे टिम लिभरपुल हो । लिभरपुल यस सिजन उत्कृष्ट टोलीको रुपमा रहेका छन् ।
लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरिरहेको छ । त्यसैले यस सिजन लिभरपुलले समेत च्याम्पियन्स लिग जित्ने सम्भावना उच्च रहेको छ ।
लिभरपुलसंग मोहम्मद सलाह, साडियो माने र रोबर्टो फिर्मिन्हो जस्ता खेलाडी लिभरपुलसंग रहेको छ ।
म्यानचेस्टर युनाईटेड
बार्सिलोनाको उपाधि यात्रा रोक्न सक्ने अर्को क्लबमा म्यानचेस्टर युनाईटेड रहेको छ । किनकि युनाईटेडलाई पाउल पोग्बा, मार्कुस राष्फोर्ड, रोमेलु लुकाकु र एन्टोनियो भ्यालेन्सिया जस्ता खेलाडीको साथ रहने छ ।
यस्तै युनाईटेडले प्रशिक्षक गुनर सोल्सायरको नेतृत्वमा उत्कृष्टप्रदर्शन गरिरहेका छन् ।