काठमाडौं । प्रदेश नम्बर ३ ले यू–१६ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई २३ रनले पराजित गर्दै प्रदेश ३ च्याम्पियन बनेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ३० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
प्रदेश ३ का लागि अविशेख उपाध्यायले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रशान्त महतले ३४ तथा दिपक बोहराले ३० रन बनाए ।
प्रदेश ५ का रमेश कुर्मी र सुरज खड्काले समान २/२ विकेट लिए ।
प्रदेश ३ ले दिएको १६३ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले ३० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाउन सक्यो । प्रदेश ५ का लागि विशाल बिक्रम केसीले ४४ तथा अमर मिश्रले २९ रन बनाए । प्रदेश ३ का दिपक बोहरा र विवेक दराईले २/२ विकेट लिए ।
उपाधिसंगै प्रदेश ३ ले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश ५ ले ७५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गर्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का बिशाल बिक्रम केसी घोषित भए । यस्तै उत्कृष्ट ब्याट्स्म्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे ।
युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगिता आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्ग माइमा हुन गइरहेको एसिसि अण्डर १६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा रहेको थियो । नेपाली टोलीको प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी र मन्जुर आलम खान रहेका छन् ।