काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा आयोजना हुने एसिया छनोट खेल्न नेपाली टोली मलेसिया पुगिसकेको छ ।
बिहिबारबाट सुरु हुने एसिया छनोटमा नेपालले सिंगापुरसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन गरि ६ टोलीको सहभागिता रहेको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले विश्वकपमा पुग्ने लक्ष्य बनाएको छ । यू-१९ विश्वकपमा नेपालको गौरवशाली ईतिहास समेत रहेको छ ।
त्यसैले नेपाल पुन: दक्षिण अफ्रीकाको टिकट काट्ने लक्ष्यसहित एसिया छनोटमा सामेल हुनेछ । दक्षिण अफ्रीकाको टिकट काटे नेपालले आठौं पटक यू-१९ विश्वकप खेल्नेछ ।
यू-१९ विश्वकपमा नेपालको ईतिहास कस्तो ?
सन् १९८८ बाट सुरु भएको यू-१९ विश्वकपले १२ औं संस्करण पार गरिसकेको छ । सन् १९८८ बाट प्रतियोगिता सुरु भएपनि सन् १९९८ बाट मात्र निरन्तरता पाएको थियो ।
पहिलो संस्करणमा ८ राष्ट्रले सहभागिता जनाएका थिए । त्यसपछि भने सहभागी राष्ट्र वृद्धि गर्दै १६ राष्ट्र बनाईएको थियो ।
आईसीसीको सदस्य नभएको कारण नेपालले पहिलो र दोस्रो संस्करणको विश्वकपमा सहभागिता जनाउन पाएको थिएन । नेपालले सन् १९९८ मा आईसीसीबाट एसोसिएट राष्ट्र मान्यता प्राप्त गरेको थियो ।
नेपालले यू-१९ विश्वकपमा सात पटक प्रतिस्पर्धा गरिसकेका छन् । सन् २००० मा नेपालले पहिलो पटक यू-१९ विश्वकप खेलेको थियो । जसमा नेपालले आठौं स्थान प्राप्त गर्दै ईतिहास रचेको थियो ।
तर, सात पटक विश्वकप खेलेपनि नेपालले आठौं स्थान भन्दा माथि उक्लन सकेको छैन । पहिलो सहभागिता र सन् २०१६ मा नेपालले आठौं स्थान हात पारेको थियो ।
यू-१९ विश्वकपको ईतिहासमा नेपालले ३ पटक मात्र विश्वकप छनोट चरण पार गर्न सकेन । नेपालले सन् २०१८, २०१४ र २०१० मा विश्वकप खेल्ने अवसर गुमाको थियो ।
हालसम्म नेपालले यू-विश्वकपमा ४३ खेल खेलेको छ । जसमा २१ खेलमा जित हात पारेको छ ।
नेपालले यू-१९ विश्वकपमा सधै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालले विभिन्न टेष्ट राष्ट्रलाई समेत पाखा लगाउँदै आएको छ । नेपालले विश्वकपमा जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता राष्ट्रलाई पराजित गरिसकेको छ ।
सन् २०१६ को विश्वकपमा न्युजिल्यान्डविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर बनाएको २३८ रन नै नेपालको सवार्धिक उच्च स्कोर हो ।
सन् २०१२ को विश्वकपमा नामिबियाविरुद्ध प्रदिप ऐरीले ७६ बलमा बनाएको अविजित ९८ रन नै व्यक्तिगत उच्च स्कोर हो ।
यस्तै २०१२ को विश्वकपमा पपुवा न्युगिनीविरुद्ध राहुल विश्वकर्माले ६.२ ओभर बलिङ गर्दै ३ रन खर्चेर ६ विकेट हात पारेको बलिङ फिगर विश्वकप इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।