एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा दोस्रो स्थानको नेपोली बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा नेपोली जिनोआसंग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपोली १० खेलाडीमा सिमित जिनोआसंग बराबरीमा रोकिएको हो ।
खेलको २८ औं मिनेटमा स्टेफनोले रातो कार्ड पाएपछि जिनोआ पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको थियो । जसको फाइदा नेपोलीले उठायो ।
खेलको ३४ औं मिनेटमा ड्रीएस मेर्टेन्सले गोल गर्दै नेपोलीलाई १-० को अग्रता दिलाए । तर, खेलको ४५ औं मिनेटमा जिनोआका डार्को लाजोभिकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेन् । र, खेल १-१ गोलको बराबरीमा सकियो ।
यो बराबरीसंगै नेपोलीले शीर्ष स्थानको युभेन्ट्ससंगको अंक दुरी घटाउने मौका गुमाएको छ । बराबरीसंगै नेपोलीले ३१ खेलबाट ६४ अंक जोडेको छ । र, नेपोली युभेन्ट्सभन्दा २० अंकले पछि परेको छ ।
नेपोलीको बराबरीले युभेन्ट्सलाई भने फाइदा पुगेको छ । अब युभेन्ट्सलाई लगातार आठौं पटक उपाधि जित्न १ अंकले पुग्ने छ ।