काठमाडौं । प्रदेश नम्बर ३ र प्रदेश नम्बर ५ ले यू–१६ क्रिकेट लिगको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको सेमिफाइनल खेलमा जित दर्ता गर्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो खेलमा प्रदेश ३ ले प्रदेश २ लाई १५ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ३ ले २९ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोड्यो । ओपनर आईश भट्टराईले ७७ रनको शानदार इनिङ्स खेलेपछि प्रदेश ३ ले बलियो योगफल खडा गरेको थियो ।
म्यान अफ द म्याच घोषित आईशले ६६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे । प्रदेश २ का लागि निखिल कुमार सिंहले ३, इमरान शेख र विशाल पटेलले २–२ तथा प्रशान्त सिंह र अरबाज अन्सारीले १–१ विकेट लिए ।
जवाफमा प्रदेश २ ले २८ दशमलव ५ ओभरमा अल आउट हुदै १ सय ३९ रनमात्र जोड्न सक्यो । ओपनर इमरान शेख ५ र विरेन्द्र साहानी १३ रनमा आउट भए । रोहण विकले २० र पर्शुराम यादवले ३१ रनको योगदान दिएपनि प्रदेश २ जितसम्म पुग्न सकेन । प्रदेश ३ का सक्रिय कार्कीले सर्वाधिक ३ विकेट लिए ।
अर्को सेमिफाइनलमा प्रदेश ५ ले कप्तान विशालविक्रम केसीको अलराउन्ड प्रदर्शनमा प्रदेश ७ लाई ६ विकेटले हरायो । वर्षाका कारण २२ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश ७ ले १८ दशमलव ५ ओभरमा अलआउट हुनु अघि ७७ रनमात्र जोड्न सक्यो ।
प्रदेश ५ का विशालले र रमेश कुर्मीले ३–३ तथा सुरज खड्काले २ विकेट हात पारे ।
जवाफमा प्रदेश ५ ले १९ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर सुशान्त थापाले २२ रन जोडे । कप्तान विशाल २१ रनमा नटआउट रहे ।
प्रदेश ७ का कप्तान सुवासले ५ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिएका थिए ।
सोमबार टीयू मैदानमा विहान ९ बजे उपाधि भिडन्त हुनेछ ।
अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू–१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ ।