काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरेका छन् ।
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध विकेट लिएसंगै सन्दीपले ५० विकेट पुरा गरेका हुन् ।
सन्दीपले बैंगलोरका मोइन अलीलाई ३२ रनमा आउट गर्दै ५० विकेटको कोशेढुंगा पुरा गरे । सन्दीपले ४० टी-ट्वान्टी खेलमा ५० विकेट हात पारेका हुन् ।
योसंगै सन्दीप टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बने ।
गत सिजनको आईपीएलबाट टी-ट्वान्टीमा डेब्यु गरेका सन्दीपले एक बर्ष नबित्दै विश्वभरका फ्रेन्चाइज टी-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ५० विकेट लिए ।
आईपीएलमा डेब्यु गरेपछि सन्दीपले क्यारेबियन प्रिमिएर लिग (सिपिएल), अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), क्यानाडाको ग्लोबल टी-ट्वान्टी, अफगानिस्तान प्रिमियर लिग लिग, बंगलादेश प्रिमिएर लिग, पाकिस्तान सुपर लिग खेलेका थिए ।
सन्दीपको टी-ट्वान्टीमा ६.८४ को बलिङ इकोनमि रहेको छ । सन्दीपको टी-ट्वान्टीमा उत्कृष्ट बलिङ फिगर १० रन ४ विकेट रहेको छ । उनले पाकिस्तान सुपर लिग (पीएसएल) मा उक्त प्रदर्शन गरेका थिए ।