काठमाडौं । एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टको योजनामा एसी मिलान जुनियर फुटबल क्याम्प आइतबारबाट सुरु भएको छ ।
नेपालमा दोस्रो पटक हुन लागेको युरोपियन क्लब एसी मिलानको जुनियर क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको हो ।
क्याम्पमा ७ देखि १७ वर्षमुनिका १०० खेलाडीहरुले फुटबलको प्रशिक्षण लिईरेहेका छन् । पहिलो दिन खेलाडीहरुले सामान्य अभ्यास गरेका थिए ।
चैत २९ गतेसम्म संचालन हुने क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट ४ प्रशिक्षकहरु नेपाल आएका छन् । उनीहरुलाई नेपालका १० प्रशिक्षकले सहयोग गरिरहेका छन् ।
युवा खेलाडीलाई प्रशिक्षण दिन मिलानबाट एड्रियाना निकोली, पाओलो कार्ली, ग्राबियल मोरोक्को र सिमोन बोनीनी नेपाल आएका छन् ।
क्याम्पमा सहभागी एक उत्कृष्ट खेलाडीले इटालीको एसी मिलान क्लबमा विशेष प्रशिक्षणको मौका पाउने छन् । उक्त खेलाडी क्याम्पको समापनसंगै छनोट गरिने आयोजकले जनाएको छ ।