काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडीयन लिगमा २५ नम्बरको जर्सी लगाउने भएका छन् । क्यानाडामा हुने ग्लोबल टी-२० क्रिकेट लिग खेल्न क्यानडा पुगेका सन्दीपले २५ नम्बरको जर्सी पाएका हुन् ।
भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिग खेलेका सन्दीपले मोन्ट्रेल टाइगर्सबाट ग्लोबल टी-२० क्रिकेट लिग खेल्ने छन् । र, क्लबले सन्दीपलाई २५ नम्बरको जर्सी दिएको हो । आज क्यानडा पुगेका सन्दीपले सामाजिक संजाल ट्वीटरबाट आफ्नो जर्सी र नम्बर सार्वजनिक गरेका हुन् ।
तर, सन्दीपले प्राविधिक समस्याका कारण लिगको पहिलो खेल भने गुमाएका छन् । दोस्रो खेलबाट सन्दीप खेलमा उपलब्ध हुने छन् ।
यो लिगको लागि छैटौं चरणमा छानिएका सन्दीपले यो क्लबबाट विश्व स्तरीय खेलाडीसंग खेल्ने छन् । सन्दीपले वेष्ट इण्डिजका क्रिस गेल, सुनिल नारिने, श्रीलंकाका लाथिस मालिंगा र थिसरा परेरा, पाकिस्तानका मोहम्मद हाफिज र अष्ट्रेलियाका स्टिभ स्मिथ जस्ता खेलाडी रहेको टोलीबाट खेल्ने छन् ।
दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।