फिदिम । डिएफसी मोरङले वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो ।
फिदिम माविको खेल मैदानमा अर्मानले ह्याट्रिकसहित ४ गोल गरेपछि मोरङले फराकिलो जित निकालेको हो । यस्तै मोरङका हेमन्त थापा मगर र संजोक राईले एक एक गोल गरे । ताप्लेजुङका सन्त लिम्बुले एक गोल फर्काए ।
ताप्लेजुङविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा मोरङले खेलको १० औं मिनेटमा अर्मानको गोलबाट अग्रता बनाएको थियो । खेलको १७ औं मिनेटमा अर्मानले व्यक्तिगत दोस्रो गोल गर्दै मोरङको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको २२ औं मिनेटमा अर्मानले गोल गर्दै ह्याट्रिक पुरा गर्दा मोरङ ३-० ले अघि रह्यो । खेलको ३९ औं मिनेटमा हेमन्तले गोल गर्दै मोरङलाई ४-० को अग्रता दिलाए ।
५२ औं मिनेटमा अर्मानले व्यक्तिगत चौथो गोल गर्दै मोरङलाई ५-० को अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा संजोकले गोल गर्दै मोरङको अग्रता ६-० को बनाए । त्यसपछि खेलको ७० औं मिनेटमा मिसनका सन्तले एक गोल फर्काएपनि मोरङ ६-१ ले विजयी भयो ।
खेलमा म्यान अफ दि म्याच घोषित भएका अर्मानले पाँच हजार नगद प्राप्त गरे ।
शनिबार तय भएपनि बर्षाको कारण मिसन युनाइटेड र डिएफसीबीचको खेल आइतबार खेलाईएको थियो ।