काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बिहिबार) नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्सले छैठौं खेल खेल्दैछ ।
दिल्लीले बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ ।
बैंगलोरविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप पनि टोलीमा पर्ने सम्भावना छ । किनकि पछिल्ला खेलमा दिल्लीका लागि सन्दीपले उत्कृष्ट खेलिरहेका छन् ।
पछिल्लो ३ खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारिसकेका छन् । त्यसैले बैंगलोरविरुद्ध सन्दीपले सुरुवाती ११ मा स्थान बनाउने प्रवल सम्भावना छ । सन्दीप सुरुवाती २ खेलमा भने टोलीमा परेका थिएनन् ।
बैंगलोरविरुद्ध मैदान उत्रिए सन्दीपले टी-ट्वान्टी क्रिकेटमा एक खुड्किलो पार गर्ने छन् । तर, त्यसका लागि सन्दीपले बैंगलोरविरुद्ध विकेट लिन सक्नु पर्नेछ ।
बैंगलोरविरुद्ध विकेट लिए सन्दीपले टी-ट्वान्टी क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गर्ने छन् ।
सन्दीपले हालसम्म ३९ टी-ट्वान्टी खेलमा ४९ विकेट हात पारिसकेका छन् । र, सन्दीप ५० विकेटको खुड्किलो पार गर्न १ विकेटले पछि रहेका छन् ।
गत सिजनको आईपीएलबाट टी-ट्वान्टीमा डेब्यु गरेका सन्दीपले एक बर्ष नबित्दै विश्वभरका फ्रेन्चाइज टी-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ५० विकेटको नजिक पुगेका छन् ।
सन्दीपको टी-ट्वान्टीमा ६.८४ को बलिङ इकोनमि रहेको छ । सन्दीपको टी-ट्वान्टीमा उत्कृष्ट बलिङ फिगर १० रन ४ विकेट रहेको छ । उनले पाकिस्तान सुपर लिग (पीएसएल) मा उक्त प्रदर्शन गरेका थिए ।