एजेन्सी । साबिकको विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ५-० गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै माट हुमेल्स, सेर्गी ग्नाब्री र जाभी मार्टिनेजले एक एक गोल गरे ।
डर्टमण्डविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा वायर्नले खेलको १० औं मिनेटमा हुमेल्सको गोलबाट अग्रता बनाएको थियो । खेलको १७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता २-० को बनाए ।
खेलको ४१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै वायर्नको अग्रता ३-० को बनाए । ४३ औं मिनेटमा सेर्गीले गोल गरेपछि पहिलो हाफमै घरेलु टोलीको अग्रता ४-० को बन्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ५-० को जित दिलाए । डर्टमण्डसंग दुई गोल गरेसंगै लेवान्डोस्कीले बुन्डेस लिगामा करियरको २ सय गोल पुरा गरेका छन् ।
बुन्डेस लिगामा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बनेका लेवान्डोस्कीले २८४ खेलमा २०१ गोल गरेका छन् ।
जितसंगै वायर्नले २८ खेलबाट ६४ अंक जोडेको छ । र, डर्टमण्डलाई नै एक अंकले पछि पार्दै वायर्न शीर्ष स्थानमा फर्किएको छ ।
डर्टमण्डको २८ खेलबाट ६३ अंक छ ।