एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले जित निकालेको छ । शनिबार भएको खेलमा युभेन्ट्सले एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । युभेन्ट्सका लागि पाउल डीबला र मोइस किनले एक एक गोल गरे । मिलानका क्रिजेस्टोफ पियाटकले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने मिलानले बनाएको थियो । खेलको ३९ औं मिनेटमा पियाटकले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ६० औं मिनेटमा डीबालाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई २-१ को महत्वपूर्ण जित दिलाए ।
जितसंगै युभेन्ट्सले लिगमा २१ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले ३१ खेलबाट ८४ अंक जोडेको छ । र, युभेन्ट्सले ३१ खेलमा जोडेको उक्त इटालियन सिरी 'ए' फुटबल इतिहासकै कीर्तिमानी अंक हो ।
लिगमा दोस्रो स्थानको नेपोलीको ६३ अंक रहेको छ । पराजित मिलान ५२ अंक जोडेर चौंथोमा रहेको छ ।