एजेन्सी । मुम्बई इण्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो ।
राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १३७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावाद १७ ओभर ४ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो ।
मुम्बईका बलर चम्किदा हैदरावादका लागि दिपक होडाले सर्वाधिक २० रन जोडे । यस्तै जोनी बैयर्सट्रो र मनिस पाण्डेले समान १६/१६ रन जोड्दा डेभिड वार्नरले १५ रन बनाए । मोहमद नाबी ११ रनमा पेभेलियन फर्किए ।
हैदरावादलाई सस्तैमा समेट्न आईपीएलका डेब्यु खेलाडी अल्जारी साहीम जोसेफ एक्लैले ६ विकेट लिए । कीर्तिमानी प्रदर्शन गरेका जोसेफले ३ ओभर ४ बलमा एक मेडनसहित मात्र १२ खर्चिएर ६ विकेट लिए ।
जोसेफको यो बलिङ प्रदर्शन आईपीएल इतिहासकै सर्वाधिक किफायती बलिङ हो । यसअघि सन् २००८ मा सोहिल तानबिरले १४ रन खर्चिएर ६ विकेट लिएको बलिङ फिगर किफायती रहेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो ।
मुम्बईका लागि केइरन पोलार्डले अविजित ४६ रन बनाए । यस्तै क्विन्टन डी ककले १९ रन जोड्दा इशान किशनले १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । कप्तान रोहित शर्मा ११ रनमा आउट भए ।
हैदरावादका सिद्दार्थ काउलले २ विकेट लिए ।
जितसंगै मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ । र, मुम्बई लिगको चौंथो स्थानमा छ । पराजित हैदरावाद ६ अंक जोडेर दोस्रो स्थानमा छ ।