काठमाडौं । ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत नेपाल रहेको समूह 'बी' मा आयोजक म्यानमारले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा म्यानमारले इन्डोनेसियालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा म्यानमारलाई जित दिलाउन यी यी ओले ह्याट्रिक गरिन । यस्तै खीन मालर तुनले दुई तथा विन थीगी तुनले एक गोल गरिन ।
जितसंगै म्यानमारले ओलम्पिक छनोटको तेस्रो चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । अब म्यानमारले अन्तिम खेलमा भारतसंग खेल्ने छ । उक्त खेलले तेस्रो चरणमा पुग्ने टोलीको तय हुनेछ ।
यस समूहमा शीर्ष स्थानको म्यानमारको ६ अंक छ । दोस्रो स्थानको भारतको पनि ६ अंक छ । नेपाल र इन्डोनेसिया अंकविहीन रहेका छन् ।
नेपाल र इन्डोनेसियाको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ ।