काठमाडौं । यू–१६ क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा प्रदेश ३ ले प्रदेश ६ लाई पराजित गरेसँगै प्रतियोगिताको अन्तिम ४ मा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा प्रदेश ३ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा प्रदेश ६ लाई २९ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिङ रोजेको प्रदेश ३ ले वर्षका कारण १९ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो । ओपनर प्रशान्त महत र दीपक बोहोराले पहिलो विकेटका लागि आक्रामक सुरुवात दिलाएपछि प्रदेश ३ ले बलियो योगफल खडा गरेको थियो । दीपक ३० र प्रशान्त महतले ७४ रन जोडे ।
१ सय ४६ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ६ ले सबै विकेट गुमाउँदै १ सय १६ रनमात्र जोड्न सक्यो । प्रदेश ६ का संगम गिरीले १९, पर्नाव बेधालले १८ तथा सन्दीप जंग शाहीले १७ रन जोडे ।
लिग चरणको खेलसंगै सेमिफाइनल समिकरण पुरा भएको छ ।
समूह ’ए’ बाट प्रदेश ७ समूह विजेता तथा प्रदेश २ उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ ।
समूह ’बी’ मा प्रदेश ३ समूह विजेता र प्रदेश ५ उपविजेता बन्दै अन्तिम चारको यात्रा तय गरे ।
आईतबार पहिलो सेमिफाइनल खेलमा प्रदेश ३ र प्रदेश २ तथा दोस्रो सेमिफाइनल खेलमा प्रदेश ७ र प्रदेश ५ भिड्नेछन् । चैत्र १९ देखि २५ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाएका छन् ।