एजेन्सी । स्पेनिस महारथी रियल मड्रिड प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड ईडेन हजार्डलाई अनुबन्धन गर्ने प्रक्रियाको नजिक पुगेको छ ।
स्पेनिस पत्रिका मार्काले दुई क्लब र स्वयम खेलाडी नयाँ अनुबन्धनको नजिक पुगेको भन्दै बेल्जियमका अन्तराष्ट्रिय खेलाडी हजार्ड चाँडै मड्रिड निस्कने दाबी गरेको छ ।
हजार्ड आगामी ६ सिजनका लागि रियल मड्रिड आउने बताईएको छ ।
रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबको पछिल्लो आवश्यकतालाई ध्यानमा राख्दै हजार्ड अनुबन्धनको अनुमती प्रदान गरेका छन् ।
रियलले पछिल्लो समर ट्रान्सफरमा २८ बर्षिया हजार्डमाथि सम्पर्क अगाडी बढाएको थियो । तर चेल्सीले २ सय मिलियन युरोको प्रस्ताव अघि सारेको थियो । चेल्सीको प्रस्तावसंगै रियल हजार्ड अनुबन्धनको प्रक्रियाबाट पछाडी हटेको थियो ।
रियलको मुख्य प्रशिक्षकमा फर्किएपछि जिदानले विश्वस्तरीय खेलाडीमा आखाँ लगाईरहेका छन् । रियलको सम्भावित खेलाडीको सुचिमा फ्रान्सेली खेलाडी केलियन एम्बाप्पेदेखि पाउल पोग्बा तथा ब्राजिली स्टार नेयमार अटाएका छन् ।