काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा आयोजना हुने एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरसंग खेल्ने भएको छ ।
आयोजक मलेसियाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल सिंगापुरसंग खेल्ने भएको हो । नेपाल र सिंगापुरबीचको खेल अप्रील १२ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा युएईसंग अप्रील १३ मा खेल्नेछ । नेपालले तेस्रो खेल मलेसियासंग अप्रील १५ मा खेल्दा अप्रील १६ मा ओमानसंग खेल्ने छ । नेपालले पाँचौ तथा अन्तिम खेल अप्रील १८ मा कुवेतसंग खेल्नेछ ।
छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
विश्वकप छनोट खेल्न नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । छनोटमा नेपालले रोहित पौडेलको कप्तानीमा प्रतिस्पर्धा गर्ने छन् ।