काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले करिब दुई बर्षदेखि रोकिएको तलब बुझेका छन् । नेपाल क्रिकेट संघ क्यानमा आन्तरिक द्वन्दमा फसेपछि आईसीसीले खेलाडीलाई पठाउँदै आएको रकम रोकेको थियो ।
आईसीसीले दुई महिना अघि खेलाडीको रोकिएको रकम राष्ट्रिय खेलकुद परिषद् राखेपको खातामा पठाएको थियो ।
परिषद्ले आफ्नो खातामा आएको रकम करिब दुई महिना पछि खेलाडीलाई वितरण गरेको छ ।
‘परिषदले रोकिएको तलब खेलाडीलाई उपलब्ध गराएको छ । खेलाडीले परिषद्बाट चेक बुझेका छन् ।’ नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले खेलपाटीसंग भने ।
तत्कालिन क्यानले खेलाडीसंग श्रेणीगत आधारमा सम्झौता गर्दै आईसीसीमा नाम पठाएको थियो ।
सम्झौता अनुसार ए श्रेणीका खेलाडीले ३५ हजार, बी श्रेणीका खेलाडीले २५ हजार र सी श्रेणीका खेलाडीले १५ हजार रुपैयाँ पाएका छन् ।
आईसीसीले दुई बर्षबाट रोकिएको १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ खेलाडीको तलब राखेपको खातामा पठाएको थियो ।
क्यान निलम्बनमा परेपछि राष्ट्रिय क्रिकेट टिमका खेलाडी बिना तलब अन्तराष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् ।