काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आज हुने भनिएको 'मातृभूमि कप' क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
टियु क्रिकेट मैदानमा शनिबार तय भएको प्रतियोगिता वर्षाको कारण स्थगित भएको हो । रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजना हुने प्रतियोगिताको नयाँ मिति चाडै घोषणा गर्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
मातृभूमि कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा दुई टोलीले खेल खेल्ने कार्यक्रम रहेको थियो ।
पारसको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम 'ए' र ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम 'बी' नाम दिईएको थियो ।
कप्तान पारसको टोलीमा अनिल साह, शरद भेषावकर, ललित नारायण राजवंशी, सोमपाल कामी, अविनास बोहोरा, सन्दीप जोरा, रोहित कुमार पौडेल, सुनिल धमला, कमल सिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।
उपकप्तान ज्ञानेन्द्रको टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भिम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी रहेका छन् ।
यस्तै कलाकारहरुबीचको आर्टिस्ट 'ए' र आर्टिस्ट 'बी' बीच पनि खेल हुने आयोजकले जनाएको छ । जसमा 'ए' को कप्तानी मदनकृष्ण श्रेष्ठ र 'बी' को कप्तानी हरिवंश आचार्यले गर्ने तयारी थियो ।
प्रतियोगिताबाट उठेको रकम फाउण्डेशनले रंगशाला निर्माणमा खर्च गर्नेछ । खेलको टिकट मुल्य ३ सय र १ हजार राखिएको थियो ।
फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण हुनेछ । डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताईएको छ ।