एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ ।
शनिबार हुने पहिलो खेलमा चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पन्जाबले प्रतिस्पर्धा गर्ने छन् । यस्तै दोस्रो खेलमा सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्सबीच खेल हुनेछ।
चेन्नईमा हुने घरेलु टोली र पन्जाबबीचको खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ । दुवै टोली चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीले अघिल्ला ४ खेलमा एक हार र ३ जित निकालेका थिए ।
तेस्रो स्थानको पन्जाबको ६ अंक छ । चौंथो स्थानको चेन्नईको पनि ६ अंक रहेको छ ।
यस्तै शीर्ष स्थानको हैदरावादसंग मुम्बईले उसैको मैदानमा खेल्नेछ । हैदरावाद र मुम्बईबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा हैदरावाद चौंथो जितको खोजीमा हुनेछ । हैदरावादले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ ।
यता, मुम्बई तेस्रो जितको खोजीमा हुनेछ । मुम्बई ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेर छैटौं स्थानमा छ ।