काठमाडौं । प्रदेश ७ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिगमा जित हात पारेका छन् ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा प्रदेश ७ ले प्रदेश २ लाई ५ विकेटले पराजित गर्यो ।
टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन जोडेको थियो । प्रदेश २ का लागि प्रशान्त सिंहले ६० बलमा ६ चौका र १ छक्कासहित नटआउट ६० रनको योगदान दिए ।
पर्शुराम यादवले ७२ बलमा ४ चौकासहित ५० रन जोडे । प्रदेश ७ का नरेन साउद ३, सुनिल लोथ्याल २ र राहुल भण्डारी १ रनमा आउट भए ।
जवाफमा प्रदेश ७ ले २७ औं ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । सुवास ऐरले ६९ बलमा १० चौका र २ छक्कासहित ८० रनको योगदान दिएपछि प्रदेश ७ जिततर्फ लम्केको थियो ।
रहिल भण्डारीले २७ तथा सुनिल चन्दले १६ रन जोडे । प्रदेश २ का प्रशान्त सिंहले २ तथा विशाल पटेल, निखिल सिंह र रोहित क्षेत्री १-१ विकेट लिए ।
अर्को खेलमा प्रदेश ५ ले प्रदेश ४ लाई ८ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको प्रदेश ४ ले २८.५ ओभरमा अलआउट हुनुअघि ९० रन जोड्यो ।
ओपनर अर्जुन कुमालले २३, आदित्य थापा २१ र शरद तिवारीले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ५ का लागि अभिषेक गौतमले ५ विकेट लिए । विशालविक्रम केसी र सुरज खड्काले २-२ तथा रमेश कुर्मीले १ विकेट हात पारे ।
जवाफमा प्रदेश ५ ले १५ औं ओभरमा २ विकेट गुमाउँदै ज्जित दर्ता गर्यो । ओपनर सुशान्त थापाले ४२ बलमा नटआउट ४३ रन जोडे । उनले ७ चौका प्रहार गरे । दिवस सेन्चुरीले २२ तथा अमर मिश्राले १८ रनको योगदान दिए । प्रदेश ४ का नितेश गिरि र आदित्य थापाले १-१ विकेट लिए ।
यस हारसँगै प्रदेश ४ प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउनेछ ।