एजेन्सी । पाकिस्तानी क्रिकेटर यासिर शाह 'टिक टक' एप्सका कारण आलोचित बनेका छन् । विश्वको लोकप्रिय एप्स टिक टकमा हिन्दि बलिउड गीतमा भिडियो बनाएसंगै यासिरले आलोचना खेप्नु परेको हो ।
हिन्दी गीतमा टिक टक भिडियो बनाएपछि यासिर पाकिस्तानी क्रिकेट समर्थक र पाकिस्तान क्रिकेट बोर्डबाटै आलोचित भएका छन् ।
एक महिलासंग बनाईएको टिक टक भिडियोमा यासिरले हिन्दी गीत गाएको देखिएको छ । उक्त भिडियो बाहिरिएपछि यासिर भाइरल समेत बनेका छन् । तर, उक्त भिडियोको कारण यासिर निकै तनावमा परेका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले अष्ट्रेलियाविरुद्ध यासिरले आचार संहिता उलंघन गरेको भन्दै कारबाही गर्ने तयारी समेत गरेको छ । पाकिस्तानले उक्त सिरिज दौरान बाहिर रात बिताएको समेत आरोप लगाएको छ । पाकिस्तानले अष्ट्रेलियासंगको एकदिवसीय सिरिज ५-० ले गुमाएको थियो ।
तर, यासिर भने उक्त भिडियोको बचाउ गरेका छन् । युएईमा रहदा एक महिला समर्थकले जिद्दी गरेपछि आफुलाई भिडियो साथ दिएको यासिरले पाकिस्तान क्रिकेट बोर्डलाई बताएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो समय खेलाडी आफ्नो अनुशासनमा नबसेको बताएको छ ।
'खेलाडीले गर्ने यस्तो हर्कतबाट क्रिकेट बोर्ड चिन्तित भएको छ । खेलाडीहरु फेसबुक, ह्वाट्सएप, ट्वीटर जस्ता संजालबाट के कस्ता आलोचना खेप्नु पर्छ भन्नेमा गम्भीर भएका छैनन् ।' पाकिस्तान क्रिकेटले भनेको छ ।
पाकिस्तान क्रिकेटले हालै उमर अकमललाई कारबाही गरेको थियो । दुबईको एक कन्सर्टमा नाची रहेको भिडियो सार्वजनिक भएसंगै पाकिस्तानले अकमललाई म्याच फिको २० प्रतिशत जरिवाना गरेको थियो ।