एजेन्सी । पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी आफ्नो पुस्ताकै महान खेलाडी मानिन्छन् ।
इटालियन क्लब युभेन्ट्सबाट खेल्ने रोनाल्डो र स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने मेस्सीबीच को उत्कृष्ट भन्ने चर्चा सधै रहन्छ । र, विश्व फुटबलले नै रोनाल्डो र मेस्सीमा को उत्कृष्ट त्यो छुट्टाउन सकेका छैनन् ।
दुवै खेलाडी गोल गर्न टोलीलाई जित दिलाउन माहिर छन् । दुवैले आफ्नो टिमको जितमा उत्कृष्ट गोलहरु गर्ने गर्छन ।
प्राय: रोनाल्डो र मेस्सी रहेको क्लबको मुख्य भरोसा दुवै खेलाडी हुने गर्छन। पछिल्लो समय विश्व फुटबलमा रोनाल्डो र मेस्सीको मात्र राज चल्दै आएको छ ।
गोल मेसिनको नामले परिचित दुवै खेलाडीले ६ सय बढी गोल गरिसकेका छन् । रोनाल्डोले हालसम्म ६८२ गोल गरेका छन् । मेस्सीले ६५९ गोल गरेका छन् ।
यसैले दुवै खेलाडीमा को उत्कृष्ट भन्ने होडबाजी चल्ने गर्छ । तर, पछिल्लो तथ्यांक अनुसार फ्रिकिक गोलमा भने मेस्सी भन्दा रोनाल्डो अगाढी रहेका छन् ।
सन् २००२ /३ बाट सन् २०१८/१९ को सिजनसम्म तथ्यांक हेर्दा फ्रिकिक गोलमा रोनाल्डो उत्कृष्ट देखिएका हुन् ।
रोनाल्डोले हालसम्म गरेको गोलमा ५३ गोल फ्रिकिकबाट गरेका छन् । मेस्सीले भने ४७ गोल फ्रिकिकबाट गरेका छन् ।
फ्रिकिक गोलमा मेस्सी रोनाल्डो भन्दा ६ गोलले पछि रहेका छन् ।
पेनाल्टी गोलमा पनि मेस्सी भन्दा रोनाल्डो अघि रहेका छन् । रोनाल्डोले पेनाल्टीमा ११० गोल गर्दा मेस्सीले ८३ गोल गरेका छन् ।